अन्तर्राष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड)

ध्वनि प्रदूषणका कारण गोदावरीको जैविक विविधता संकटमा

मे 22, 2025

रमेश कठरिया, सुनिता चौधरी

“चराहरूको सूचना आदानप्रदानमा समस्या भयो भने जोडी बनाउने, खुवाउने, र बच्चाहरूको पालनपोषण गर्ने काममा समस्या आउँछ”

कुहु कुहु गरि गीत गाउने कोइलीको मीठो धुन सुन्न कसलाई पो आनन्द लाग्दैन र ! चराका चिरबिर चिरबिर र शीतल हावाका झोंकाले सल्लाका पातलाई छुँदा आउने 'सुइय्य' आवाज सुन्दै गर्दा सुनिने गाडीका कर्कश ट्या ट्या र साउन्ड सिस्टमका चर्का आवाजले नमिठा अनुभूति दिलाउँछन्।चराले आफ्नो जोडीलाई बोलाउन र आफ्नो क्षेत्रको रक्षा गर्न गाउने गीतहरूलाई हिजो आज सवारी साधन र ठूला साउन्ड सिस्टमका आवाजले प्रतिस्थापन गरिरहेका छन् ।

ध्वनि प्रदूषण सवारी साधन – कार, बस, ट्रक, मोटरसाइकल, ट्रेन, विमान, उद्योग र कलकारखाना – ठूला मेसिनहरूको आवाज, विवाह, धार्मिक वा सामाजिक समारोहहरूमा बज्ने/बजाउने लाउड स्पीकर र डीजे, र भवन निर्माण, सडक निर्माण आदि जस्ता निर्माण कार्यले निम्त्याउने अनावश्यक आवाजको उपस्थितिलाई बुझाउँछ।ध्वनि प्रदूषणले मानिसको श्रवण शक्तिमा समस्या ल्याउन सक्छ।यसले निद्रा नलाग्ने समस्या उत्पन्न गर्न सक्छ।धेरै ठूलो आवाजले मानसिक तनाव र झन्झट पैदा गराउँछ। यसले उच्च रक्तचाप (ब्लड प्रेसर) र मुटु सम्बन्धी समस्या निम्त्याउन सक्छ। पढ्न र काम गर्न ध्यान केन्द्रित गर्न गाह्रो हुनुका साथै यसले जनावर र चराचुरुङ्गीको व्यवहारमा परिवर्तन ल्याउँछ।

ध्वनि प्रदूषणले प्रकृतिमा रहेका सम्पूर्ण जीव जन्तुलाई विभिन्न असर गर्दछ ।गोदावरीको जंगलमा बसोबास गर्ने चराहरू पनि ध्वनि प्रदूषणका असरबाट अछुता छैनन्। यहाँ बसोबास गर्ने चराहरूको गीत अब पहिले जस्तो मीठो सुनिँदैन।यिनले गाउने गीतमा सुरिलोपन छैन, मौलिकता छैन।यिनका आवाजमा अरु नमिठा आवाजहरु मिसिएका छन्। चराहरु बिहान र बेलुकी सक्रिय हुन्छन् भने यिनीहरु दिउँसो आराम गर्ने गर्छन् ।ध्वनि प्रदूषणले भने चराहरूको दैनिक क्रियाकलाप जस्तै खाना खोज्ने, बच्चा स्याहार गर्ने, संभोगको लागि चाहिने वातावरण र प्रजननमा प्रतिकूल असर गरेको छ। धेरै चराहरू जस्तै हिउँजुरे तोरीगाँडा, समुहमा आहारा खोज्ने गर्छन्।त्यस्तै बच्चा हुर्काउन र अन्य सिप सिकाउन चराहरूले बोलिको मध्यमबाट कुराकानी गरिरहेका हुन्छन् । 

चराहरूमा भाले चहकिला र सक्रिय हुन्छन् ।प्रजननका लागि भालेले विभिन्न आवाजहरू निकाल्ने र क्रियाकलापहरू गर्ने गर्छन् ।ध्वनि प्रदुषणले भाले चराको प्रजनन  प्रयासलाई नै अवरोध गरिरहेको हुन्छ। यसरी ध्वनि प्रदूषणले चराहरूको प्रजननमा पनि असर पारिरहेको हुन्छ। यसरी ध्वनि प्रदूषणले दैनिक जनजीवन, जनावर र चराचुरुङ्गीको दैनिक क्रियाकलापमा असर गरिरहेपनि यसबारे कही कतै खासै चर्चा गरिएको छैन।ध्वनि प्रदूषणलाई न त प्राथमिकतामा राखिएको छ न त यस सम्बन्धि अनुसन्धान गर्न प्रोत्साहन नै गरिएको छ। 

नेपालमा ध्वनि प्रदुषण सम्बन्धि मापदण्डहरू बनाइएको भएता पनि मापदण्डको नियमनले भने पूर्णता पाएको छैन। अपवादका रुपमा वातावरण संरक्षण नियमावली- २०७७ अन्तर्गत विकासका परियोजनाहरूमा, केहि सहरी क्षेत्र र राष्ट्रिय निकुञ्जहुरुमा ध्वनि प्रदुषणका मापदण्डको नियमन भए पनि अन्य धेरै ठाउँमा नियमन छैन।

गोदावरी – चराहरूको स्वर्ग र जैविक विविधताको धरोहर काठमाडौं उपत्यकाको दक्षिणपूर्वी भेगमा अवस्थित गोदावरी केवल एक रमणीय गन्तव्यस्थल मात्र नभई  यो जैविक विविधताको अद्भुत संग्रहालय पनि हो। यहाँ २०० भन्दा बढी प्रजातिका चराहरू अवलोकन गर्न सकिन्छ, जसमा कोइली, भीमराज चिब, गोमायु महाचील, रोचिष्णु मिसिया, पिउरा र अन्य दुर्लभ प्रजातिहरू समावेश छन्।गोदावरीका वनजंगल र खोला किनारहरू चराहरूको सुरक्षित बासस्थान बनेका छन् ।यस क्षेत्रलाई पक्षीविद्हरूले "Birdwatcher's Paradise" को उपमा दिएका छन्।

राष्ट्रिय वनस्पति उद्यानमा मात्र करिब १,००० प्रजातिका बिरुवा, जडीबुटी र मौसमी फूलहरू संरक्षित छन्।यस क्षेत्रले जंगली जनावर, सरीसृप, उभयचर, जलचर र विभिन्न कीटपतंगहरूका लागि समेत आश्रय प्रदान गर्छ।

राष्ट्रिय वनस्पति उद्यानबाट केहि मिटर पर जाने हो भने हामीले assisted natural regeneration को ज्वलन्त उदाहरण लिभिङ माउन्टेन ल्याबमा देखन सक्छौं। लिभिङ माउन्टेन ल्याब, एक वैज्ञानिक र प्रविधिक केन्द्र हो, जसलाई अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)ले सञ्चालन गर्दै आएको छ। यो अनुसन्धान र नवीनता प्रयोग र प्रदर्शन गर्ने थलो हो।तीस हेक्टर क्षेत्रफलमा फैलिएको लिभिङ माउन्टेन ल्याब सन् १९९३ मा स्थापना गरिएको हो।यसले हिमाली क्षेत्रका पर्वतीय पारिस्थितिकी प्रणालीलाई आर्थिक र वातावरणीय रूपमा दिगो बनाउने तथा स्थानीय समुदायको जीवनस्तर सुधार गर्न योगदान पुर्‍याउँदै आएको छ।यस क्षेत्रमा गोदावरीका अन्य क्षेत्रमा भन्दा धेरै चरा,  वनस्पति, सरीसृप, उभयचर र अन्य वन्यजन्तुहरूको विविधता पाइन्छ।अध्ययनहरू अनुसार, लिभिङ माउन्टेन ल्याबमा १०० भन्दा बढी प्रजातिका चरा, २८० भन्दा बढी प्रजातिका पुतली, ५४ प्रजातिका ड्रागनफ्लाई र दम्सेलफ्लाई र ८६ प्रजातिका जडिबुटीहरू पाईन्छ।यो ठाउँ जैविक विविधता र दिगो व्यवस्थापनको उत्कृष्ट प्रयोगशाला मात्र नभई, संरक्षण र मानव सहजीवनको उदाहरण पनि हो।

तर पछिल्ला वर्षहरूमा तीव्र शहरीकरण, मानव गतिविधि, कंक्रीटीकरण, फोहर व्यवस्थापनको अभाव र ध्वनि प्रदूषणका कारण गोदावरीको जैविक सन्तुलनमा गम्भीर चुनौती देखिन थालेको छ।यदि हामी अहिले नै सचेत भएनौं भने, भविष्यमा गोदावरीको हरियाली र जीवन्तता केवल सम्झनामा मात्र सीमित हुने खतरा बढ्दै गएको छ।

सामाजिक विकृतिको प्रोत्साहन

प्रकृति सबैका लागि आकर्षणको केन्द्र हो।हरियो वन, चिरबिराउने चराहरू र चिसो बतासजस्ता रमाइला अनुभूतिका लागि मानिस प्रकृतिका नजिक जाने गर्दछन्। काठमाडौँ, देशको मुख्य सहर जहाँ मानिसको असाध्यै भिडभाड छ, यहाँ वरिपरि नै रमणीय र प्राकृतिक दृश्यहरु हेर्न र अनुभव गर्न सकिन्छ। काठमाडौँबाट १–२ घण्टाको यात्रा तय गर्ने हो भने कुनै न कुनै पिकनिक स्थल वा हाइकिङ ट्रेलमा सजिलै पुग्न सकिन्छ। विशेषगरी शनिबारका दिन काठमाडौँ वरिपरिका डाँडाहरू आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकहरूले भरिएका देखिन्छन्।

तर विडम्बना के छ भने, यसरी प्रकृतिको आनन्द लिन जाँदा मानिसहरु त्यहाँको प्राकृतिक वातावरणमा क्षति पुर्‍याएर फर्किने प्रवृत्ति बढ्दो छ।  हाइकिङका क्रममा ठूलो आवाजमा आधुनिक गीतहरू घन्काउँदै उकालो चढ्ने, ड्राइ पिकनिक मनाउन शिवपुरी वा गोदावरी पुगेर कुरकुरे, चाउचाउका खोल र रक्सीका बोतलहरू जंगलमै फाल्ने जस्ता व्यवहारहरु सामान्य हुँदै गएका छन् ।

गोदावरीमा ध्वनि प्रदूषण

नेपाल सरकारले २०६९ कात्तिक १३ गते राजपत्रमा सूचना प्रकाशित गरी ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ जारी गरेको थियो ।उक्त मापदण्ड अनुसार शान्त क्षेत्रमा दिवा समयमा अधिकतम ५५ डेसिबल र रात्रि समयमा ४५ डेसिबलसम्मको ध्वनिको सीमा निर्धारण गरिएको छ। 

यसरी सरकारी तवरबाट ध्वनिको सीमा निर्धारण गरिएपनि राष्ट्रिय वनस्पति उद्यान गोदावरी र सामुदायिक वन क्षेत्र शान्त क्षेत्र भित्र परेपनि सो स्थानमा रहेका पिकनिक स्थलहरू (नौधारा वरिपरि, राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला नजिक, चापाखर्क जाने बाटो, र गोदावरी कुण्ड वरिपरि) २०८२ साल वैशाख १३ गते  उक्त क्षेत्रमा ध्वनि मापन गर्दा हामीले ती क्षेत्रहरुमा ध्वनिको मात्रा ६० डेसिबल भन्दा बढी पायौं। 

यो अत्यधिक मात्राको ध्वनिको असर जनावर र चराचुरुङ्गीमा मात्र नपरी हप्ता भरिको थकान मेट्न यहाँ आउने पर्यटकहरूमा पनि यसको प्रत्यक्ष र परोक्ष असर परिरहेको छ। त्यसैगरी,  हप्ता भरिको थकान मेट्न र प्रकृतिमा शान्ति खोज्न, रमाउन आएका पर्यटकहरू पनि प्रभावित हुन्छन्।शान्त वातावरणको अभावले उनीहरूले अपेक्षित अनुभव प्राप्त गर्न सक्दैनन्।यसले उनीहरूको मानसिक सन्तुलनमा असर पार्छ।साथै, प्रकृतिप्रति उनीहरूको आकर्षण पनि घट्न सक्छ।दीर्घकालीन रूपमा यसले गन्तव्यको लोकप्रियता र पर्यटन व्यवस्थापनमा समेत चुनौती सिर्जना गर्छ।

जैविक विविधतामा ध्वनि प्रदूषणको प्रभाव

जैविक विविधतामा ध्वनिको असर भन्ने बित्तिकै हामी वनस्पति भन्दा पनि जनावरहरूलाई बढी सम्झन्छौं । तर यसो भन्नुको मतलब वनस्पतिमा ध्वनि प्रदूषणको असर पर्दै पर्दैन भन्ने होइन।जनावरहरूमा भने ध्वनि प्रदूषणको असर छिट्टै देखिने गर्छ  किनभने जनावरहरू गतिशील हुन्छन् र वातावरणप्रति प्रतिक्रिया जनाउन सक्छन्। जनावरहरू शान्त ठाउँ मन पराउँछन्। जनावरहरूमा पनि चराहरूमा यसको प्रभाव स्पष्ट देखिन्छ र आँकलन  गर्न सकिन्छ ।चराहरू गीतको माध्यमबाट एक आपसमा सूचना आदानप्रदान गर्ने गर्छन्।स्यामुयल डी. हिल र सह-लेखकहरूको २०१८ मा प्रकाशित "सो मच फर द सिटी: अर्बन–रुरल सङ्ग भेरिएसन इन अ वाइडस्प्रेड एसियाटिक सङ्गबर्ड" नामक अध्ययनले धोबिनी चराको गीत शैलीमा शहरी र ग्रामीण वातावरणबीचको भिन्नता विश्लेषण गरेको छ। नेपाल लगायत सात देशका शहरी र ग्रामीण क्षेत्रमा गरिएको  उक्त अनुसन्धानले शहरी क्षेत्रमा ध्वनिको स्तर ग्रामीण क्षेत्र भन्दा अपेक्षाकृत बढी भएकोले शहरी क्षेत्रमा बसोबास गर्ने धोबिनी चराले लामो गीत गाउने देखाउनुका साथै गीतमा अक्षर दर (syllable rate) कम हुन्छ, अर्थात गीत विस्तारमा हुने र अक्षरबीचको समय अन्तराल (syllable interval) ग्रामीण क्षेत्रको भन्दा बढी हुने देखाएको छ।उक्त अध्ययनले धोबिनी चराले लामो र ढिलो गीत गाउने देखाएको छ।यसो गर्दा चराहरूले सम्प्रेषण गर्ने महत्वपूर्ण जानकारी सहरको कोलाहल बीच पनि स्पष्ट रुपमा सुन्न सकिन्छ।यो अनुसन्धानबाट हामीले अरू कुरा पनि परिकल्पना गर्न सक्छौँ।धोबिनी चरा सहरदेखि गाउँसम्म व्यापक रूपमा फैलिएका प्रजातिहरू मध्य पर्छ।यसले ठाउँ अनुसार आफ्नो बोली परिवर्तन गर्न पनि सफल भयो।तर अर्को कुनै चरा समान स्थितिमा परेको भए के हुन्थ्यो? धोबिनी चराले झैँ आफ्नो आवाज परिवर्तन गर्न नसकेको भए त्यो चरालाई के हुन्थ्यो होला? यो प्रश्न हामी सबैले आफैलाई सोध्नु जरुरी छ।यस्ता परिस्थितिहरुमा  चराहरुको प्रजनन, सुरक्षा, अन्तरक्रिया, बासस्थानमा तथा अन्य प्रजातिहरूसँगको प्रतिस्पर्धा, खाना प्राप्तिमा समस्या, र अन्य सामाजिक व्यवहारहरू प्रभावित हुन्थे ।

हामी अनुमान लगाउन सक्छौं अहिले गोदावरीको चराहरूलाई के भइरहेको छ होला भनेर।चराहरूको सूचना आदानप्रदानमा समस्या भयो भने जोडी बनाउने, खुवाउने, र बच्चाहरूको पालनपोषण गर्ने काममा समस्या आउँछ र अन्ततः चराको संख्या घट्न थाल्छ ।

"ध्वनि प्रदूषणले वन्यजन्तुको प्राकृतिक व्यवहारमा गम्भीर असर पुर्‍याउँछ। चराहरूको गीत र सूचना आदानप्रदानमा अवरोधले उनीहरूको प्रजनन दरमा कमी ल्याउँछ।"

ध्वनि प्रदूषणले वन्यजन्तुहरूको बासस्थान चयनमा महत्वपूर्ण प्रभाव पार्दछ।नेथन केलिस्ट र सह-लेखकहरूले अमेरिकाको पायसन्स बेसिनमा २०२० मा प्रकाशित गरेको "नोइज एन्ड लेन्डस्केप फिचर्स इनफलुन्स ह्यबिट्याट युज अफ मेमलियन हर्बिवोर्स इन अ नेचुरल ग्यास फिल्ड" अध्ययनमा ध्वनि प्रदूषणले स्तनधारी प्रजातिहरूको बासस्थान चयनमा महत्वपूर्ण प्रभाव पार्ने उल्लेख गरिएको छ। यस अध्ययनले उच्च ध्वनि स्तर भएका स्थानहरूमा प्रजातिहरूको बासस्थान प्रयोग घटेको पायो भने ध्वनि प्रदूषणले प्रजातिहरूको आचरण र बासस्थान चयनमा परिवर्तन ल्याउने पनि देखायो।यसले संकेत गर्दछ कि ध्वनि प्रदूषणले जनावरहरूको बासस्थान चयन र गतिविधिमा अवरोध पुर्‍याउँछ।

धेरै जनावरहरू शान्त ठाउँको खोजीमा गोदावरीमा रहेको आफ्नो प्राकृतिक बासस्थान छोड्न बाध्य भएका छन्। जनावरहरू, जस्तै रतुवा मृग, चितवा, शान्त ठाउँ मन पराउने र विचरण गर्ने गर्छन। शान्त वातावरण नहुँदा यी जनावरहरु जंगल छोडी रहेका छन्।हामी शान्त ठाउँमा चरा र अन्य प्रजाति सजिलो गरि देख्न सक्छौँ तर, हिजो आज ध्वनि प्रदूषण भएको हुनाले चराका प्रजाति देखिन कम भएको छ। जनावरहरुले आफ्नो वरिपरिको वस्तुस्थितिबारे अरू जनावरहरुलाई जानकारी गराउन र खतराको संकेत गर्न आवाज निकाल्ने गर्छ। तर ध्वनि प्रदूषण बढ्नाले यी प्राकृतिक क्रियाकलापमा बाधा परेको छ।यसले गर्दा जनावरको जीवन चक्रमा परिवर्तन आएको छ।ध्वनि प्रदुषणले शिकारी र शिकारको सम्बन्धमा पनि अवरोध आएको छ, जसले जैविक विविधताको सन्तुलन बिगारेको छ। यसरी ध्वनि प्रदूषणले गोदावरीको पारिस्थितिक प्रणालीमा पनि असर पुर्‍याएको छ।

ध्वनि प्रदूषणले केवल चराहरू र अन्य वन्यजन्तुहरूलाई मात्र होइन, वनस्पतिहरूलाई पनि दीर्घकालीन प्रभाव पार्न सक्छ।सन् २०२१ मा जेनिफर एन. फिलिप्स र सह-लेखकहरुले अमेरिकाको न्यू मेक्सिको राज्यको ब्यूरो अफ ल्याण्ड म्यानेजमेन्टको र्याटल-स्नेक क्यान्यन ह्याबिटेट म्यानेजमेन्ट एरियामा (RCHMA) गरेको “लङ टर्म नोइज पोल्यूशन अफेक्ट्स सिडलिङ रिक्रुटमेन्ट एन्ड कम्युनिटी कम्पोजिशन, विथ नेगेटिव इफेक्ट्स पर्सिस्टिङ अफ्टर रिमूवल” नामक अध्ययनले ध्वनि प्रदूषणको दीर्घकालीन प्रभावले सल्ला र धुपी प्रजातिको बीउ पलाउन र वनस्पति प्रजातिहरूको संरचनामा नकारात्मक असर परेको पुष्टि गरेको छ ।यस अध्ययनमा अनुसन्धानकर्ताहरुले सन् २००७ मा गरिएको ध्वनि प्रदुषण सम्बन्धि अध्ययनलाई आधार बनाएर सोहि अध्ययनलाई पुनः २०१९ मा अध्ययन  गरेका छन् ।

सन् २००७ मा धेरै ध्वनि भएको (ट्रिटमेन्ट साइट) र शान्त (कन्ट्रोल साइट) ठाउँमा गरिएको अध्ययनमा ध्वनि प्रदुषणले गर्दा वनस्पति समुदायको संरचनामा असर परेको पुष्टि भएको थियो। सन् २०१९ सम्म आउँदा धेरै ध्वनि भएको स्थानमा ध्वनि प्रदुषण नियन्त्रण गरिसकिएको थियो।तर ध्वनि प्रदुषण नियन्त्रण गरिसके पश्चात् पनि सन् २०१९ मा दुवै ठाउँमा पुन: अध्ययन गर्दा ट्रिटमेन्ट साइटमा परिवर्तन आएको पाइएन।सन् २०१९ को अध्ययनमा ट्रिटमेन्ट साइटमा सन् २००७ मा कन्ट्रोल साइटमा जस्तो नतिजा पाइएको थियो यहाँ पनि त्यस्तै नतिजा पाइयो।अर्थात्, ध्वनि प्रदूषणको दीर्घकालीन प्रभावले गर्दा वनस्पति समुदायको बीउ पलाउने दर र संरचनामा ट्रिटमेन्ट साइटमा कुनै बदलाव आएन।अनुसन्धान  गरिएको स्थानमा बसोबास गर्ने जनावरहरू जसले बीउ  प्रसार र परागणमा मुख्य भूमिका खेलिरहेका थिए, ति जनावरहरू ध्वनिको चाप थेग्न नसकेर त्यस स्थान छोडेर अन्यत्र सरे र वनस्पतिमा परस्पर-सम्बन्धित पारिस्थितिक प्रभाव पर्न गयो ।

सामुदायिक प्रयासको आवश्यकता

गोदावरी क्षेत्रको जैविक विविधता र वन्यजन्तु संरक्षणलाई प्राथमिकता दिनु अपरिहार्य छ।तर संरक्षणको नाममा गोदावरीलाई मानवरहित बनाउने वा पर्यटन गतिविधि बन्द गर्नु भने उपयुक्त होइन।अन्तर्राष्ट्रिय जैविक विविधता दिवस २०२५ को नारा "प्रकृति र दिगो विकास, समृद्धिको मूल आधार"लाई आत्मसात गर्दै  हामीले यो क्षेत्रलाई भावी पुस्ताका लागि सुरक्षित राख्न सक्छौं।

वनस्पति र वन्यजन्तुको बासस्थान संरक्षण र पुनर्स्थापनामा स्थानीय समुदायको अहम भूमिका हुन्छ।

गोदावरी क्षेत्रको जैविक विविधता र वन्यजन्तु संरक्षण गर्नका लागि स्थानीय सरकार, जिल्ला वन कार्यालय ललितपुर, सामुदायिक वन उपभोक्ता समूह, फुल्चोकी  वन संरक्षण क्षेत्र, राष्ट्रिय वनस्पति उद्यान, लिभिङ माउन्टेन ल्याब, यातायात व्यवसाय तथा स्थानीय होटल व्यवसायीहरूबीच सहकार्य अनिवार्य छ। यी सबै निकाय र जैविक विविधता र वन्यजन्तु संरक्षण गर्न लागिपरेका संघसंस्थाहरूले हातेमालो गरेर वनस्पति र वन्यजन्तुको बासस्थान संरक्षण र पुनर्स्थापना गर्नु जरुरी छ।

गोदावरी नगरपालिकाले प्रकृति संरक्षण गर्न स्थानीय स्तरमा जनचेतना अभिवृद्धि, नियमित अनुगमन, र नीतिगत व्यवस्थापनका कार्यहरू गर्दै आइरहेको छ। यस कार्यलाई थप प्रभावकारी बनाउन ध्वनि प्रदूषणलाई समेत विचार गर्दै अघि बढ्नु धेरै आवश्यक छ।यसले  मानव क्रियाकलाप र प्राकृतिक प्रणालीबीच सन्तुलन कायम गर्न मद्दत गर्छ।यसले  दीर्घकालीन रूपमा वन्यजन्तु र वनस्पति संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

प्रकृतिको आवाज दबाउने हाम्रो सानो असावधानीले, भोलिका दिनहरूमा चिरबिराउने चराहरूको मात्र होइन, हाम्रो आफ्नै श्रवण शक्तिको पनि अन्त्य हुन सक्छ। संरक्षणका लागि सचेत हुने कि मौन विनाशलाई स्वीकार गर्ने ? निर्णय अब हामीमाथि छ ।

linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram